के हो कृषि बीमा ?

नेपालको कृषि प्रणाली निर्वाहमुखीबाट क्रमिक रुपमा व्यवसायिकरण तर्फ रुपान्तरण गर्दै लैजानका लागि कृषि व्यवसायमा संलग्न कृषक, व्यवसायी तथा उद्यमीहरुको आत्मविश्वास वृद्धि गर्न जरुरी छ। कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफनो व्यवसायलाई विस्तार गर्न, लगानी सुरक्षित र जोखिम कम गर्नका लागि इन्स्योरेन्स कम्पनीहरुले कृषकहरुको घरदैलोमा अनुदानका साथ पशु पन्छी तथा कृषि बीमाको कार्यक्रम प्रस्तुत गर्दछन् ।

कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकलाई कृषि व्यवसायतर्फ आकर्षण गर्न र कृषि क्षेत्रमा निजी तथा सहकारी लगानी बढाउन र लगानी सुरक्षित गर्न आवश्यक भएको छ । यो आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारको शासकीय आर्थिक सुधारको तत्कालिन कार्ययोजना, २०६९ को कृषि क्षेत्र विकास सम्बन्धी बुँदा नं. ११ मा माछा, पशुपन्छी र कृषि उपजको व्यवसायिक उत्पादनमा जोखिम बीमा गरिदिने र सो बीमाको नेपाल सरकारले तोकिदिएको अनुदान समेत प्रदान गर्ने व्यवस्था रहेको छ ।

कृषि बीमामा के पर्छन् त ?

कृषकहरुले खेती गरेका सम्पूर्ण बालीहरु (खाद्यान्न बाली, दलहन बाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, तेलहन बाली, च्याउ आदि), पालेका पशुपन्छी, मौरी र माछाहरुको बीमा हुन्छ । यसका साथै बीमा समितिबाट बीमालेख जारी गरी तोकिएको अन्य बाली तथा पशुपन्छीको समेत बीमा हुन्छ ।

क) पशुधन बीमा
ख) पन्छी बीमा
ग) धानबाली बीमा
घ) आलुबाली बीमा
ङ) फलफूल बाली बीमा
च) माछा बीमा
छ) च्याउ बीमा
ज) अष्ट्रिच बीमा
झ) मौरी बीमा

बिमीत पशु अन्तर्गत दुध, मासू, ब्रिडिङ, पशू श्रम, उन उत्पादनका लागि पालिने पशुहरु (गाई, गोरु, भैंसी, रांगो, चौरी, याक, भेडा, च्याङग्रा, बाख्रा, खसी, बंगूर, घोडा, गधा, खच्चड आदी) पर्दछन् ।

उत्पादन लागत र उत्पादन मुल्यका आधारमा बीमा हुने कृषि बालीहरु यसप्रकार रहेका छन् ।

क्र.सं. उत्पादन लागतमा बीमा हुने बालीहरु (Cost of Production) उत्पादन मुल्यमा बीमा हुने बालीहरु (Product Value) दुवैमा बीमा गर्न सकिने बालीहरु
धान बाली अन्नबाली बीउ उत्पादन माछा पालन
फलफूल खेती चैते धान बाली तरकारी खेती
च्याउ खेती अदुवा खेती  
आलु बेसार खेती  
केरा चिया  
मौरीपालन कफी  
अलैची    
क्षतिपूर्ति कति दिइन्छ ?

बीमा गरिएको कृषिजन्य वस्तु पशुपन्छी आदि पूर्ण क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत र आंशिक क्षति भएमा क्षतिको प्राविधिकको मूल्याङ्कन तथा बीमा लेखमा उल्लेख भए अनुसारको रकम प्राप्त हुन्छ ।

क) पशुधन मृत्यु भएमा बीमाङ्कको ९० प्रतिशत
ख) पशुधन पूर्णरुपले स्थायी रुपमा अशक्त भएमा बीमाङ्कको ५० प्रतिशत

बीमाले कस्ता कस्ता जोखिम रक्षावरण गर्छ ?
  • आगलागी, चट्यांग
  • भूकम्प
  • बाढी, डुबान, खडेरी
  • पहिरो, भुस्खलन
  • आंधीबेहरी, असिना, हिउँ वा तुषारो
  • आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु (जंगली जनावरले हुने नोक्सानी)
  • कीरा तथा रोगबाट हुने हानी नोक्सानी
  • विषादीबाट हुने नोक्सानी (माछा)
  • अन्य बाली विशेष अनुसारको जोखिमहरु
पशुपन्छी तथा बाली बीमा कसरी गरिन्छ ?

पशुपन्छी तथा बाली बीमा गराउन चाहने बिमीतले कम्पनीले उपलब्ध गराएको पशुपन्छी तथा बाली बीमा प्रस्ताव फारम पूर्णरुपले भरी बाली र पशुपन्छीको विवरण पूरा खोल्नुपर्छ। साथै पशुपन्छी स्वास्थ्य विवरणमा सम्बन्धित पशु चिकित्सक / प्राविधिक / कृषि प्राविधिक बाट भराउनु पर्छ। सो पशु पहिचानको लागि चिकित्सक वा प्राविधिकबाट संकेत पट्टा लगाई सोको नम्बर पनि बीमा प्रस्ताव फाराममा उल्लेख गर्नु पर्छ ।

कति अवधिका लागि बीमा हुन्छ ?
  • पशुधनमा १ वर्ष
  • पन्छी छोटो अवधि १ ब्याच वा १ वर्ष
  • बालीमा एक बाली अवधि भर वा बढीमा एक वर्ष
बाली बीमा गर्नुपूर्व कृषकले ध्यान दिनुपर्ने कुराहरु
  • बाली बीमा गर्न आवश्यक हो वा होइन, प्राविधिक सँग परामर्श गर्ने ।
  • तपाईले खेती गर्दा प्राविधिक सहयोग कहाँबाट पाउनु हुन्छ यकिन गर्ने । बालीमा समस्या देखिने बित्तिकै प्राविधिक सेवाको खाँचो पर्दा कहाँ सम्पर्क गर्ने, स्थलगत परामर्शको लागि प्राविधिक आउन सक्ने कुराको सुनिश्चित गर्ने ।
  • सकेसम्म बाली बीमाका लागि अन्य छिमेकी तथा समुहसँग सल्लाह गरी सँगसँगै बीमा गर्ने ।
  • तपाईलाई पायक पर्ने र जिम्मेवारी पाएको बीमा कम्पनी कुन हो, बीमा गर्नुपूर्व कम्पनीसँग बसेर छलफल गर्ने ।
  • बीमा गर्दा सम्भावित जोखिम आउन सक्ने कुरामा मात्र बीमा गर्ने, प्राय गरी लगाइएको बालीमा बढी जोखिम देखिन सक्छ त्यसैले टनेल वा प्लास्टिक घर, आइरन फ्रेम वा अन्य पूर्वाधारको बीमा गराई रहनु पर्दैन । 
  • बाली लगायत पूर्वाधारको बीमा गर्दा बीमा शुल्क (Premium) बढी तिर्नुपर्ने हुन्छ । तर हावा हुरीको सम्भावना छ भने प्लास्टिक छानोलाई पनि बीमा पोलिसीमा समावेश गर्दा उपयुक्त हुन्छ ।
  • बीमा कम्पनीले राख्ने शर्तहरु पालना गर्न सकिन्छ कि सकिंदैन ?
  • खेती सम्बन्धि तालिम लिनु भएको छैन भने पहिले तालिम लिनुहोस् र अनुभव हासिल गर्नुहोस् ।
  • खेती गर्ने माटोको अवस्था कस्तो छ, माटो जंचाइ  आवश्यक सुधार गर्नुहोस् ।
  • बीउ, मल, सुक्ष्म तत्व, सिंचाई, विषादी लगायत उत्पादन प्रविधिका बारेमा जानकारी लिनुहोस् ।
  • सुचिकृत बीउ, मल, विषादी मात्र प्रयोग गर्नुहोस् ।
  • बीमा भनेको जोखिम न्यूनीकरणको एउटा उपाय मात्र हो, लगानी वा उत्पादनको सुरक्षा हो । तपाईले कमाउने मुनाफा बीमाले समेट्न सक्दैन त्यसैले उत्पादनका हरेक तहमा तपाईको मिहिनेत र रेखदेख सर्वोपरि हुन्छ ।
बीमा गर्न कति शुल्क लाग्दछ ?

बाली तथा पशुपन्छीको बीमा गराउँदा लाग्ने बीमा शुल्क हरेक बाली तथा पशुपन्छी बीमा लेखमा तोकिए अनुसार हुनेछ । विभिन्न बाली तथा पशुपन्छीहरुको बीमा शुल्क यस प्रकार रहेको छ ।

पशूको लागि : बिमाङ्कको ५% (३.७५% अनूदान सरकारले दिने)
पंक्षीमा प्रति वर्ष : बिमाङ्कको ५% (३.७५% अनूदान सरकारले दिने)
पंक्षीमा प्रति व्याच : बिमाङ्कको १.२५% (०.९३७५% अनूदान सरकारले दिने)
बालीमा : प्रति बाली लागत मुल्यको ५% (३.७५%अनूदान सरकारले दिने)
माछामा : बिमाङ्कको २% (१.५% अनूदान सरकारले दिने)
च्याउ बीमा : बिमाङ्कको ५% (३.७५% अनूदान सरकारले दिने)
अष्ट्रिच बीमा : बिमाङ्कको २% (१.५% अनूदान सरकारले दिने)
मौरी बीमा : बिमाङ्कको ५% (३.७५% अनूदान सरकारले दिने)

बीमाको लागि कहाँ सम्पर्क गर्ने ?

बीमाको लागि प्रिमियर इन्स्योरेन्सको नजिकको शाखा अथवा अभिकर्ता, समुह/ सदस्य संस्थाहरुसंग सम्पर्क गर्नूपर्छ । बीमा अभिकर्तालाई १५% कमिशन दिइने छ भने समुह/ सदस्य संस्था मार्फत बीमा भएमा बीमा शुल्कमा १५% छुट दिईने छ ।

बाली तथा पशुपन्छी बीमा कार्यमा संलग्न बीमा कम्पनीहरु 

बीमा समितिमा दर्ता भएका २० वटा निर्जिवन बीमा कम्पनीहरु यस कार्यमा संलग्न छन् । कृषक समुदायमा बीमा कम्पनीहरुको सहज पहुँच पुर्याउने तथा बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवर्द्धन गर्नका लागि बीमा समितिद्वारा हरेक कम्पनीहरुलाई ३ देखि ५ वटा जिल्लाहरु कार्यक्षेत्रको रुपमा तोकिएको छ । बीमा समितिद्वारा कार्यक्षेत्र तोकिएका कम्पनीहरुलाई अन्य जिल्लाहरुमा बाली बीमा गर्न बन्देज हुने छैन । 

बाली तथा पशुपन्छी बीमा गराउने निकायहरु 

बाली तथा पशुपन्छी बीमा प्रचलित कानून बमोजिम बीमा अभिकर्ताको आधारभुत तालिम लिई बीमा समितिबाट अभिकर्ताको लाइसेन्स (अनुमति पत्र) प्राप्त व्यक्ति, संगठित संस्था, समूह आदि मार्फत गराउन सकिन्छ । 

बीमा गर्न आवश्यक क्षेत्रफल तथा पशुको उमेर

बालीहरुको बीमा गराउँदा तराईमा कम्तीमा १ कठ्ठा जमिनमा खेती गरिएको र पहाड तथा उच्च पहाडमा कम्तीमा आठ आना (आधा रोपनी) जमिनमा खेती गरिएको हुनु पर्दछ ।

त्यस्तै पशुपन्छीको बीमा गराउन पशुको उमेर निम्नानुसार हुनु पर्दछ |

स्थानीय तथा उन्नत नश्लको गाई: २ वर्ष (पहिलो वेत भएको) देखि १० वर्ष सम्म
भैसी: ३ वर्ष अथवा (पहिलो वेत भएको) देखि १२ वर्ष सम्म
स्थानीय तथा उन्नत नश्लको बाछी कोरली वा पाडी: ६ महिना देखि २ वर्ष सम्म
प्रजननको लागि उन्नत नश्लकोे सांढे वा रांगो: ३ वर्ष देखि १२ वर्ष सम्म
भेडा, बाख्रा, बंगुर: ३ महिना देखि बिक्रीका लागि तयार हुन्जेल सम्म

बीमा गरिएको पशूपन्छी वा बाली बिक्री गर्नुपरेमा के गर्ने ?

बीमा गरेको पशूपन्छी वा बाली बिक्री गर्नू परेमा बिक्री गर्नु भन्दा अगाडी बीमा कम्पनीमा जानकारी गराई बीमा रद्ध गरेमा ८ महिना सम्म बीमालेखमा उल्लेखित प्रतिशतका हिसाबले कटाई बाँकि बीमा शूल्क फिर्ता पनि पाइन्छ । तर दावी परी सकेको हकमा फिर्ता हुने छैन ।

कति दिन भित्र क्षतिपुर्ति पाइन्छ ?

पशुपन्छी वा बाली नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समुह / सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनू पर्छ र १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्जमिन मूचूल्का पेश गरेपछि ठाउँ हेरी बढीमा एक महिना भित्र क्षतिपुर्ती उपलब्ध गराइन्छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनु पर्छ । अन्यथा क्षतिपुर्ति पाइने छैन ।

बीमालेख के के कारणले रद्ध हुन सक्छ ?
  • बीमित पशुपन्छी वा बालीको सम्बन्धमा लुकाइ छिपाइ झूटा विवरण दिइएको पाइएमा रद्ध हुनेछ ।
  • बीमकलाई जानकारी नदिई अवधि समाप्त नहुँदै पशुपन्छी वा बाली बिक्री गरेमा वा अन्य कुनै कारणले हक छाडी हस्तान्तरण गरेमा बीमालेख स्वतः रद्ध हुनेछ ।
  • बीमित पशुपन्छी वा बाली कूनै वित्तीय संस्थाबाट ऋणमा लिएको अवस्थामा उक्त ऋण चूक्ता भई बीमित पशुपन्छी वा बाली बिक्री भएको अवस्थामा बीमालेख स्वतः रद्ध हुनेछ ।
बीमित पशुपन्छी वा बालीको दावी नलाग्ने अवस्थाहरु के के हुन् ?
  • बीमित पशुपन्छी वा बाली हराएमा वा चोरी भएमा ।
  • निर्धारित अवधिभित्र दावी प्रक्रिया सुरु नगरेमा ।
  • बीमित पशुपन्छी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा ।
  • बीमित पशुपन्छी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा ।
  • बीमित पशुपन्छी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा ।
  • चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५/६ किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा ।
  • बीमकको सहमति बगेर पशुपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा ।
  • पन्छी बर्डफ्लू भएमा ।
बालीहरुको बीमा गराउँदा बीमाङ्क रकम आधार निकाल्ने तरिका 

बालीहरुको बीमा गराउँदा उत्पादन लागतको आधारमा हुने बीमाको हकमा बीमाङ्क रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको उत्पादन लागतको अधिनमा रही सम्बन्धित मातहतका कार्यालयले उपलब्ध गराएको उत्पादन लागत (खेती खर्च) को आधारमा हुनेछ भने उत्पादनको आधारमा हुने बीमाको हकमा बीमा लेखमा व्यवस्था भए बमोजिम बीमाङ्क रकम कायम हुनेछ र सोही अनुसार बीमा गरिन्छ ।

कृषि बीमाका अवसरहरु
  • विगत ६ वर्षको अविधमा बीमामा उत्साहप्रद ढंगले प्रगति भएको छ ।
  • उत्पादन लागत र उत्पादन मुल्य दुवैमा बीमा गराउन सकिने अवस्था ।
  • सबै प्रदेश र स्थानीय तहमा कृषि बीमा गराउनका लागि माग बढीरहेको छ ।
  • नयाँ प्रविधिको प्रयोगसँगै बीमा गर्ने आवश्यकता महसुस हुँदै गएको ।
  • सबै प्रदेश र जिल्लामा कृषि बीमा गराउने कम्पनीहरुको उपस्थिति रहेको ।
  • मौसमी बाली तथा बहुवर्षीय बालीहरुमा बीमालेख जारी भएको अवस्था ।
  • नेपाल सरकारले विगत ६ वर्षदेखि निरन्तर बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको ।

 

 

कृषि बीमाका चुनौतिहरु
  • कृषकहरुमा जोखिम सुरक्षा गर्नु पर्दछ भन्ने चेतना र लगानी क्षमता अभिवृद्धि गर्नुपर्ने ।
  • बीमा कार्यमा कृषक र बीमकको समन्वय र सहकार्यको खाँचो देखिएको ।
  • सबै स्थानीय तहमा बीमा कम्पनीको उपस्थिति र कृषकहरुको पहुँच पुर्याउनुपर्ने अवस्था देखिएको ।
  • बीमा गराउने प्राविधिक र अभिकर्ताको क्षमता विकास गर्नुपर्ने, प्रोत्साहनको खाँचो  ।
  • सबै बालीहरुको यथार्थ लागत अनुमान र बीमालेखको तयारी हुनु पर्दछ ।
  • कम्पनी, अभिकर्ता र कृषकहरुको बिचमा सामन्जस्यता, समन्वय र विश्वासको वातावरण हुनु पर्दछ ।
  • कृषकको तर्फबाट बीमा मागमा कमी देखिएको छ ।
  • कमजोर सूचना प्रणाली ।
  • बीमा गराउनका लागि अपरिहार्य बालीहरु कुन कुन हुन पहिचान हुन आवश्यक ।
  • दावी प्रक्रिया झन्झटिलो, महँगो र बढी समय लाग्ने भएको कृषकहरुको गुनासो रहेको छ ।
  • सबै प्रकृतिका जोखिमहरुलाई कृषि बीमाले समेट्न नसकेको ।
  • जग्गाको स्वामित्वको कारणले बीमा गर्न चाहने कृषकहरुलाई समेट्न नसकिएको ।
  • केहि बालीको बीमालेखमा समावेश बुँदाहरु र वास्तविक रुपमा बीमा गर्ने कार्यमा तालमेल नदेखिएको । जस्तै: केरा बालीमा बीमा गर्दा बीमा लेखले समेटेको भन्दा बढी केराको बोटमा दावी हुने गरेको बीमा कम्पनीहरुको गुनासो ।
बीमा गरिसकेपछि कृषकले के गर्ने ?
  • खेती शुरु गर्दा देखि नै आफुले गरेका सबै खर्चको विवरण डायरी वा कापीमा नोट गरी राख्ने । प्राविधिकले कुन मितिमा अनुगमन गरेको छ, मल, सुक्ष्म तत्व, सिंचाई कहिले कहिले प्रयोग गरेको हो मिति, समय र विधि समेत खुलाई नोट गर्ने ।
  • प्रत्येक हप्ता बालीको फोटो खिची राख्ने ।
  • प्राविधिकको सुझाव अनुसार बालीको उचित रेखदेख गर्ने ।
  • सिफारिस मात्रामा मल जल गर्ने, झारपात हटाउने, उकेरा लगाउने, गोडमेल गर्ने, सुक्ष्म तत्व र विषादी प्रयोग गर्ने ।
  • प्राविधिकलाई स्थलगत अनुगमन गराउने ।
  • थप प्राविधिक सुझावहरु अवलम्बन गर्ने ।
  • प्रारम्भिक चरणमा देखिने सामान्य समस्या भनेर त्यत्तिकै नबस्ने, कारण पत्ता लगाई सावधानी अपनाउन शुरु गर्ने ।
  • जटिल समस्या देखिन शुरु भएको छ भने सम्बन्धित बीमक तथा प्राविधिकलाई जानकारी गराई प्रयोगशाला परिक्षण आवश्यक पर्छ भने सो समेत गराउने । सँगसँगै रोकथाम र  नियन्त्रणका उपायहरु अपनाउँदै जाने ।
बाली बीमा दावी गर्दा कृषकहरुले ध्यान दिनुपर्ने कुराहरु
  • बाली नोक्सानी हुनासाथ सम्भव भएसम्म तत्कालै र तत्कालै सम्भव नभएमा ३ दिन भित्रमा लिखित रुपमा आफैले वा सदस्य संस्था मार्फत बीमकलाई जानकारी दिनुपर्छ |
  • आफुले क्षति न्यूनीकरणका लागि गरेको प्रयासलाई प्रमाणको रुपमा राख्ने ।
  • उत्पादनको विभिन्न चरणमा खिचिएका फोटोहरुलाई प्रमाणको रुपमा राख्ने ।
  • प्राविधिक तथा बीमा कम्पनीले प्रमाण पेश गर्न भनेपछि १५ दिन भित्रमा सक्कल बीमालेख, क्षति वा हानी नोक्सानीको प्रमाण पत्र तथा प्राविधिक प्रतिवेदन, गाउँ पालिका वा नगरपालिकाको सिफारिस पत्र, सर्जमिन मुचुल्का र पूर्ण रुपमा भरिएको दाबी फारम बीमा कम्पनीलाई बुझाउनु पर्दछ ।
बाली बीमा गर्दा प्राविधिकले ध्यान दिनुपर्ने कुराहरु
  • कृषकले कस्तो जग्गामा खेती गर्दै छ । त्यो जमिन कुनै विशिष्ट बालीको लागि उपयुक्त हो वा होइन ?
  • कति क्षेत्रफलमा खेती गरिँदै छ ?
  • बीमा गरिने बालीको माग र आपूर्तिको अवस्था कस्तो छ ? 
  • उपभोक्ताको रुचि ?
  • श्रोत साधनको उपलब्धताको अवस्था कस्तो छ ? सिंचाई, मल, बीउ, औजार आदि ।
  • कुन जातको बाली लगाउँदै छ ? बाली लगाउने क्षेत्रको Layout कसरी गरेको छ ?
  • सुरक्षाका उपायहरु के के गरिएको छ ? जंगली जनावर, चोरीको सम्भावना, खोला, पहिरो आदि ।
  • छरछिमेकमा ऊ एक्लैले खेती गर्दै छ कि अन्यले पनि गरिरहेका छन् ?
  • कुनै संस्थाको अनुदान हो वा शत प्रतिशत आफ्नै लगानी हो ?
  • खेती गर्न कतैबाट तालिम, सिप पाएको छ वा छैन ? कृषकको अनुभव ?
  • प्रविधि तथा प्राविधिकको पहुँच कस्तो छ ?
  • Motivation indicators of farmers, family support, other support etc.
  • जग्गा तयारीको अवस्था, मलखादको सिफारिस मात्रा तथा सिंचाईको सिफारिस मात्रा प्रयोग गर्ने नगर्ने प्रतिबद्धता ?
  • सुचिकृत बीउ हो कि होइन ? Open varieties or Hybrid ?
  • बीमा गरिने कार्य उत्पादन लागत (Cost of production) मा आधारित हो कि उत्पादन मुल्यमा (Product Value) ?
बाली बीमा दावी गर्दा प्राविधिक वा अनुगमनकर्ताले ध्यान दिनुपर्ने कुराहरु
  • कृषकले कति क्षेत्रफलमा खेती गरेको छ ? बीमा लेखमा कति उल्लेख छ तुलना गर्ने ।
  • क्षति भएको कति दिनपछि सरोकारवालालाई जानकारी गरेको छ ?
  • कस्तो प्रकृतिको क्षति हो सो को यकिन गर्ने ।
  • रोग कीरा, मलखादको कमी, सिंचाई, बीउ, माटो आदिको कारणले क्षति भएको हो भने प्राविधिकले दिएको सुझाव कार्यान्वयन गरेको नगरेको यकिन गर्ने ।
  • कृषकले अपनाएका समाधानका प्रयासहरुका प्रमाणहरु के के राखेको छ ? के के छैन ?
  • क्षतिपूर्वको तस्वीर र क्षति पश्चातको तस्वीर तुलना गर्ने ।
  • प्राविधिक र बीमा कम्पनी बसेर बाझिएका कुरामा छलफल गर्ने ।
  • Moral hazard भए नभएको यकिन गर्ने ।
  • छिमेकी तथा परिवारका अन्य सदस्यले के भन्छन् ?
  • बीमा कम्पनीले दिएका शर्तहरु पालना गरे नगरेको ?
  • प्राविधिकले दिएको प्रतिवेदनसँग कृषकको भनाइ मिल्छ कि मिल्दैन 
  • उत्पादन लागत वा उत्पादन मुल्यको आधार दावी गरिएको रकम घटी बढी वा बराबर ?
  • घटना स्थलमा पुग्दा प्रमाणहरु सुरक्षित छन् वा नष्ट भैसकेका छन् ?
  • सबै प्रमाणहरुको आधारमा प्राविधिकले बाली हानी नोक्सानीको प्रमाण पत्र सम्बन्धित कृषकलाई उपलब्ध गराउने ।
  • कृषकले क्षति भयो भनेर जानकारी गराएको ४८ घण्टा भित्र बीमक वा नीजको प्रतिनिधि क्षति भएको स्थानको अनुगमन तथा जाँचबुझ गर्नु पर्दछ ।